काठमाडौं - पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा आन्दोलनरत पक्षले आफ्नो आन्दोलनको कार्यक्रमलाई थप कडा बनाएका छन्। नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

जसअनुसार उनीहरुले आगामी फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’गर्ने, केबलकार अनुमति र सम्झौता खारेजीको माग गर्दै फुङलिङ नगरपालिका घेराउ गर्ने, काठमाडौं, इटहरी र विर्तामोडमा विरोध सभा गर्ने कार्यक्रम घोषणा गरेका छन्।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले ‘नो केबलकार समूह’लाई वार्ता र समाधानको पक्षमा रहने अपिल गरेका छन्। सोमबार बिहान नगरपालिकाका सात वडाध्यक्षहरूको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा मादेनले वार्ताबाट नभाग्न र समाधान निकालेर निकाल्न आग्रह गरेका हुन् ।

उपप्रमुख तारा भट्टराई, उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू र गैरसरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदीले आन्दोलनरत समूहलाई हडताल र बन्द गरेर जनता र नागरिकलाई दुःख दिने कार्यक्रम नराख्न आग्रह गरेका छन्।
केबलकार निर्माणको पक्षमा रहेका अधिकांश वडाध्यक्षहरूले भने बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप नगर्न र वास्तविक जनताको आवाज उठाउन मिडियाकर्मीलाई आग्रह गरे।

फुङलिङ-९ का वडाध्यक्ष लक्षुमन गुरुङले अनावश्यक विवादको कारणले समुदायलाई विभाजन नगर्न चेतावनी दिए। तथापि, विरोधी पक्षले यसको पर्यावरणीय र सामाजिक प्रभावको विरोध गर्दै आएको छ।