काठमाडौं - आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले धार्मिक आस्थालाई क्षति नपुर्‍याई पाथीभरामा केबलकार बनाउन लागिएको बताएका छन्।  

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकार मन्दिर छेउमै पुर्‍याउने नभई ७०० मिटर टाढा टप स्टेसन रहने बताए। पाथीभरामा कुनै पाँचतारे होटल नभई टप स्टेसनमा अक्सिजनसहितको आधारभूत स्वास्थ्य संस्थाबाहेक अरू पूर्वधार केही नहुने प्रष्ट्याए।

अधिकांश स्थानीय केबलकार बन्नु पर्छ भन्ने पक्षमा रहेको बताउँदै ढकालले अहिले काम गरिरहेका श्रमिकलाई रोजगारी ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए ।  कतिपयले मन्दिरको भेटीमा चन्द्र ढकालले आँखा लगाएको भन्ने भ्रम फैलाइएको भन्दै आपत्ति जनाए।

केबलकार निर्माणको कुल लागत करिब ३ अर्ब रूपैयाँ रहेको र हालसम्म पूर्वतयारीका काम सकिएको बताए। अहिले विरोध गर्नेहरू स्थानीय नभएको उनको दाबी थियो। मौलाकाली केबलकार निर्माण भए पनि हिडेर जान सकिने बाटोहरू कायमै रहेकोले पाथीभरामा पनि त्यही गरिने ढकालले बताए।