काठमाडौं - सरकारी वार्ता टोली र पाथीभरा केबलकार विरोधी समूहबीच भएको वार्तामा सहमति जुटेको छ । ललितपुरको होटल हिमालयमा मंगलबार भएको सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगको वार्तामा सहमती जुटेसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ।
आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्न सरकार सहमत भएको छ।
आन्दोलनकारीका वार्ता टोलीका एक सदस्यकाअनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ। अर्को वार्ता माघ २७ गते बिहान ११ बजे बस्ने पनि दुई पक्षबीच सहमति भएको छ।
सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमती पत्रमा उल्लेख छ।
मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले केबलकार निर्माणपप्रति असहमति जनाउँदै यातायात समेत बन्द गरी आन्दोलन गर्दै आएका थिए ।


0 comment