काठमाडौं — चन्द्रागिरि नगरपालिका वडा नं. २ मा बालश्रम अनुगमन भएको छ । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठसहितको टोलीले अनुगमन गरेको हो । चन्द्रागिरि नगरपालिका वडा नं २ मा यही माघ २५ गते वडालाई बालश्रम मुक्त वडा घोषणा हुँदैछ । बालश्रम मुक्त वडा घोषणाका लागि २० वटा सूचक पूरा गर्नुपर्ने र सोही सूचक वडाले पूरा गरिसकेको वडा सचिव ईश्वर तिमल्सीनाले बताए । 
अनुगमनका क्रममा वडामा रहेका विभिन्न होटेल कलकारखाना लगायतका क्षेत्रमा बालश्रम प्रयोग गरिएको छ वा छैन भन्ने कुरालाई हेरिएको र सोही क्रममा कुनैपनि क्षेत्रमा बालश्रम प्रयोग भएको नपाइएको वडा सचिव तिमल्सीनाको भनाई थियो । साथै वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएकोले आगामी दिनमा पनि यस वडाक्षेत्रमा बालश्रम देखिएमा श्रमकार्यालयको समन्वयमा कारवाही प्रक्रिया अगाडी बढाइने जानकारी गराउँदै सबै वडावासीको साथ र सहयोगको अपेक्षा रहेको वडाले जनाएको छ । 
चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाउने अभियानमा लामो समय बालबालिकाका क्षेत्रमा काम गरिरहेको संस्था बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसन्ल नेपालले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 
संस्थाको सहयोगले वडालाई बालश्रम मुक्त बनाउन निकै टेवा पुगेको वडा कार्यालयले जनाएको छ । चन्द्रागिरि नगरपालिकाका ८ वटा वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् भने बाकी वडा क्रमश घोषणा हुने क्रममा छन् ।