काठमाडौं - स्वर्गद्वारी गुठी पीडितले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनसहित धर्ना दिएका छन् । दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने उनीहरुको मुख्य माग रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग २०८० चैत ७ गते भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो ।
स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरू गर्ने र संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता गर्दै गुठी सम्बन्धी कानुन कानुन निर्माणमा सल्लाह सुझाव दिने सहमति भएको थियो ।
उनीहरु दाङ देउखुरीबाट यही माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका थिए ।परम्परागत पोशाकमा आएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री बोकेका थिए। गौशाला क्षेत्रबाट रातोपुल, सेतोपुल, बिजुलीबजार हुँदै उनीहरु माइतीघर मण्डला पुगेका हुन् ।सरकारले माग पुरा नगरेसम्म अनिश्चितकालीन धर्नामा बस्ने भन्दै उनीहरु काठमाडौं आएका छन् ।


0 comment