काठमाडौं - अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । हत्या गरेको अभियोगमा ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई प्रहरीले शनिबार पत्रकार सम्मेलनमार्फत सो तथ्य सार्वजनिक गरेको हो ।
यही माघ ११ गते शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएकी ढकारी गाउँपालिका-८ पल्साताकी दुवै किशोरी को ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुको हत्या भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) ईश्वरीप्रसाद भण्डारीले दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको बताएका छन्।


0 comment