काठमाडौं — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सहित ७ जनाविरुद्ध कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको बताइएको छ । गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भू थापाले बहस गरे । सोमबारबाट लामिछाने पक्षका वकिलको बहस सुरु हुने र न्यायाधीश नीतिज राईको इजलासमा चलिरहेको थुनछेकमा जोशीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए ।
आइतबार भट्टराईले आफ्नो तर्फको बहस सकेपछि जोशीका तर्फबाट शम्भू थापाले बहस गरे । उनले हद म्याद नाघेर जोशीसहितलाई मुद्दा दायर गरिएको तर्क इजलासमा गरेका थिए । जोशी सूर्यदर्शनको सेयर सदस्य नरहेकोले सहकारीको दायित्व सञ्चालक समितिले लिनुपर्ने उनले बताए । ‘पहिला मुद्दा दर्ता हुँदा नै गोर्खा मिडिया र नेचर हब्र्समा रकम गएको भनिएको छ, यो अहिले पत्ता लागेको तथ्य होइन,’ उनले भने, ‘नयाँ अभियोग त्यतिबेला आउने हो जब नयाँ तथ्य पत्ता लाग्छ ।
’जोशीका तर्फबाट ६ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका थिए । तीमध्ये बाँकीले बहस गर्न चाहेमा सोमबार समय दिइने र जोशीतर्फका सकिएपछि लामिछाने पक्षका कानुन व्यवसायीको बहस सुरु हुने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । लामिछानेपक्षका कानुन व्यवसायी यज्ञमणि न्यौपानेले जोशीतर्फको बहस सकिएको र सोमबारबाट लामिछाने पक्षको बहस थालनी हुने बताइएको छ ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, रमण श्रेष्ठ, हरि सुवेदी, डा.नारायण घिमिरे, सुरेन्द्र थापा, अधिवक्ताहरू डा.नारायण कँडेल, रोहितराज बाँस्तोला, राजेन्द्र बजगाई, सुविज्ञ पन्त लगायतले बहस गर्ने जनाइएको छ । थुनछेक वहसपश्चात रवि धरौटीमा छुटछन् या पुरपक्षका लागि थुनामा जान्छन भन्ने कुरा आम जनचासोको विषय बनेको छ ।


0 comment