काठमाडौं - अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।
कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो।
सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति हुनुभएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उहाँ सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट हुनुहुन्थ्यो।
यसअघि उहाँकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए।
गत वर्ष छालाको क्यान्सर भएपछि उहाँ घरमा आराम गरिरहनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले उहाँको निधनपछि शोक वक्तव्य जारी गर्दै प्रिय साथी तथा असाधारण नेता भएको बताउनुभएको छ। यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने उल्लेख गर्नुभएको छ।
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उपराष्ट्रपति कमला ह्यारिसले पनि उहाँको निधनमा शोक व्यक्त गरेका छन्। बेलायती राजा र्चाल्सले उहाँको निधनमा शोक व्यक्त जारी गर्दै अमेरिका संसारकै सबै भन्दा राम्रो स्थान हुनुमा कार्टरको योगदान रहेको चर्चा गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनमा शोक व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शोक वक्तव्यमा पूर्व अमेरिकी राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनले आफुलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्नुभएको छ।
“शान्ति, मानवअधिकार, र परोपकारका क्षेत्रमा उहाँको योगदानले विश्वलाई प्रेरित गरेको छ। उहाँको परिवार र अमेरिकी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु भन्नुभएको छ।”


0 comment