७ वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए । जिल्लामा सञ्चालित शिवधुरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबासलाई पुनः सञ्चालनमा ल्याइएको छ ।नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सक्रियतामा घरबास सञ्चालकलाई आवश्यक सीप र तालिम सिकाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २ पुराना र २ नयाँ घरबास सञ्चालनमा ल्याइएको हो ।
कोरोना महामारी, पूर्वाधार अभाव, प्रचारप्रसार तथा तालिम प्राप्त जनशक्ति नहुँदा सुस्ताएका यहाँका घरबास पुनः सञ्चालनसँगै पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । काठेखोला गाउँपालिकाभित्र स्थापना भइसकेर नियमित नभएका २ र नयाँ २ घरबास सञ्चालनसँगै पर्यटन प्रवद्र्धन गर्न थालिएको फाउन्डेसनका सचिव उमेश गौतमले जानकारी दिए ।
काठेखोला गाउँपालिकामा ४ स्थानमा स्तरीय घरबास सञ्चालन गर्ने उद्देश्यले ४ घरबासका अहिले ८० जनालाई खानाका विभिन्न परिकार बनाउने, सञ्चालनको तरिका तथा पाहुनाको स्वागतदेखि बिदाइसम्मको प्रक्रिया सिकाइएको उनले बताए । उनकाअनुसार तालिमपछि सञ्चालक पूर्वाधार निर्माणमा केन्द्रित भएका छन् ।शिवधुरी र बौर सामुदायिक घरबासलाई पुनः सञ्चालनको तयारी भइरहेको छ भने धम्जा देउराली र खानीगाउँ सामुदायिक घरबासमा पूर्वाधार निर्माण भइरहेको गौतमले जानकारी दिए ।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग, काठेखोला गाउँपालिकाको साझेदारी र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा पर्या–पर्यटनमार्फत सीमान्तकृत युवा र महिलालाई रोजगारी सिर्जना गरी आयआर्जनसँग जोड्न घरबास सञ्चालनका लागि सहयोग पु¥याइएको फाउन्डेसनका सचिव गौतमले बताए ।घरबासलाई आम्दानी र पर्यटनसँग जोड्ने उद्देश्यले तालिम दिइएको बताउँदै उनले सञ्चालकलाई घरबास व्यवस्थापन, स्थानीय पथप्रदर्शनसम्बन्धी जानकारी, आतिथ्यतालगायत विषयमा तालिम दिइएको जानकारी दिए ।‘२०७५ सालमा जिल्लामा घरबास सञ्चालनको लहड नै चल्यो, पछि धेरै घरबास उचित व्यवस्थापन हुन नसक्दा बन्द भए, कतिपयले घरबास र होटलबीच फरक छुट्याउन सकेनन्’, सचिव गौतमले भने, ‘अहिले काठेखोलामा स्तरीय घरबास सञ्चालनसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नियमित सञ्चालनको तयारी थालेका छौँ । स्थानीय महिला तथा युवालाई आयआर्जनमा सघाउँदै पर्यटनसम्बन्धी गतिविधि बढाउन, घरबासलाई दिगो बनाउने अभियानमा छौँ । उहाँहरूलाई पाक कला, पथप्रदर्शन र स्वागत, सत्कारको विषयमा जानकारी गराएको छौँ ।’
काठेखोला गाउँपालिकाले घरबास प्रवद्र्धनका लागि सहकार्य गरेको गौतमले बताए । उनका अनुसार पहिलो चरणमा ४ वटा घरबास सञ्चालनमा ल्याइएको छ ।फाउन्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनका अनुसार काठेखोलामा ७ वर्षअघि दर्ता भएर नियमित हुन नसकेका शिवधुरी र बौर सामुदायिक घरबासलाई पुनः सक्रिय गराइएको हो ।
पर्यटकीय क्षेत्रहरूमा घरबासका कारण आगन्तुकको आगमन हुने भएकाले स्वरोजगारसँगै पर्यटन प्रवद्र्धन गर्न धम्जाको पर्यटकीय सम्भावना बोकेको देउरालीमा सामुदायिक घरबास सञ्चालन गर्न थालिएको स्थानीय मेखबहादुर थापाले बताए । धम्जामा यसअघि बेलढुंगा सामुदायिक घरबास सञ्चालनमा आइसकेको छ ।
उनले पहिलो चरणमा १० घरबाट घरबास सञ्चालनको काम थालिएको बताउँदै ३ दिने घरबास व्यवस्थापन तालिम लिइसकेको जानकारी दिए । उनले घरलाई घरबासमा परिणत गर्न सरसफाइ, सुत्ने तथा भान्सा कोठा, शौचालय र स्नान घर निर्माणमा यहाँका स्थानीय जुटेको बताए । धम्जाको देउराली गाउँ ताराखोला, तंगाम र धम्जाको केन्द्रमा पर्ने भएकाले पर्यटक भित्र्याउन समस्या नरहेको थापाको भनाइ छ ।
स्थानीय हिमालसागर श्रेष्ठले पहिलेदेखि देउराली व्यापारिक थलो भएको बताउँदै पर्यटकलाई व्यवस्थित खाने, बस्ने तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गराउने उद्देश्यले घरबास सञ्चालन गर्न थालिएको बताए ।
व्यवस्थित घरबासको अभाव खड्किएको काठेखोला–८ लेखानीमा खानीगाउँ सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । फाउन्डेसनको सहयोगमा लेखानीका २० घरबास सञ्चालकलाई सक्रिय बनाएर तालिम दिइएको घरबास सञ्चालन तथा प्रवद्र्धनको साझेदार संस्था काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए ।घरबासमार्फत बसाइँसराइले सुनसान बन्न थालेका गाउँलाई जागरुक बनाउन स्थानीय तहले महिलालाई पाककला तथा सीप विकास तालिम दिइरहेको उनले जानकारी दिए । न्यून आयस्रोत भएका महिला र युवालाई लक्षितगरी घरबास सञ्चालनका लागि सञ्चालकलाई सक्रिय बनाइएको उपाध्यक्ष थापाको भनाइ छ ।


0 comment