काठमाडौं – आज बिहान रूकुम पश्चिमको खोलागाउँबाट सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । जीप दुघृटनामा परी कम्तिमा २२ जना यात्रु घाइते भएका छन् भने घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबै घाइतेहरूलाई चौरजहारी मिसन अस्पतालमा पुर्याइएको छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ को गैरीजिउला भन्ने स्थानमा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको हो ।
क्षमताभन्दा बढी यात्रु बोकेका कारण जीप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए।


0 comment