काठमाडौं – बालुवाटार स्थित चर्चित ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा हिनामिना प्रकारणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले ५० दिन लगाएर गरेको संगठित अपराध अनुसन्धानलाई सरकारी वकिल कार्यालय काठमाडौंले किर्ते मुद्धाका रुपमा अघि बढाएको छ । संगठित अपराध सम्बन्धि कानुन नै नभएको समयमा भएको घट्नामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्धा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्धा दायर गरेको हो । 

‘०४९ सालदेखिको प्रकरण हो । ०६९ सालसम्म त्यसको निरन्तरता देखिन्छ । ०६९ सालमा आएको अध्यादेशले पनि निरन्तरता पाएन । २०७० सालमा मात्र संगठित अपराध सम्बन्धी ऐन आएको हो । त्यसकारण पश्चदर्शी कानुन लगाउन नमिल्ने हँुदा संगठित अपराधको मुद्धा चलाइएन’ सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपाने भन्छन् । पूर्व उपप्रधानमन्त्री विजय गच्छदार, तीन पूर्वमन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह तकला, पूर्वसचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायण गोपाल मलेगो र रविन्द्रमान जोशी सहित ३१० जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएको छ । मुद्धा दर्ता गरिएकामा मृत्यु भएका बाहेक २८९ जना छन् । 

सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्धा दर्ता नगर्दा समग्र मुद्धा नै कमजोर भएको बताइन्छ । प्रहरीले संगठित अपराधमा मुद्धा चलाउन सिफारिस गरे पनि उच्च राजनीतिक दवावका कारण सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्धा चलाएको हो । व्युरोले किर्ते र संगठित अपराध दुवैमा मुद्धा चलाउन साथ दिएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्धा चलाउने निर्णय गरेको हो । सरकारी वकिल कार्यालयले जग्गा फिर्ता गर्न निवेदन दिएकाहरु शिविका खेतान, खज्जनकुमार वाचन रोजन खनाल, नितु गुरुङ र देवासी गोयललाई पनि मुद्धा चलाएको छ । उनीहरुले किनेको ललिता निवासको जग्गा फिर्ता गर्ने निवेदन दिएका आधारमा सिआइवीले मुद्धा नचलाउन सिफारिस गरेको थियो । साथै सिआइवीले तत्कालीन अधिकृत कृष्ण राउतलाई पनि मुद्धा नचलाउने निर्णय गरेको थियो । तर सरकारी वकिल कार्यालयले उनका विरुद्ध पनि मुद्धा दायर गरेको छ । तत्कालीन कानुन शाखाका उपसचिव विनोद कुमार गौतमको रायका आधारमा टिप्पणी उठाइएकोमा वर्तमान सचिब राउतलाई किर्तेमुद्धा चलाइएको छ । तर गौतमका बरेमा सरकारी वकिलको कार्यालय मौन छ । त्यसैगरी पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाहलाई उन्मुक्ति दिइएको छ । उनलाई सिआइबीले मुद्धा चलाउन सिफारिस गरेको थियो । साथै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई पनि मुद्धा चलाइएको छैन । उनीहरुसँगै पूर्व मुख्य सचिव लीलामणी पौडेलले पनि उन्मुक्ति पाएका छन् । 

संगठित अपराधका लागि कम्तीमा तीनबर्ष कैद आवश्यक हुने तर यसमा एक बर्ष मात्र कैद भएकाले पनि संगठित अपराध सम्बन्धी मुद्धा चलाउन नमिल्ने सरकारी वकिल कार्यालयका प्रमुख नेउपान बताउँछन् । ललिता निवास जग्गा प्रकरणमा प्रमाण नपुगेकाहरुका हकमा थप अनुसन्धान गर्ने बाटो खुला राखिएको छ । सरकारी वकिल कार्यालयले प्रमाण नपुगेका प्रतिवादी नबनाइएका हकमा प्रमाण पुगेपछि अभियोग पत्र दायर गर्ने गरी बाटो खुला राखेको हो । यसमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज, काठमाडौैंबाट अनुसन्धान कार्य सम्पन्न भई अभियोजनार्थ प्राप्त हुन आएको मुद्धामा मिसिल संलग्न कागजातहरु समरजंग कम्पनीमा कार्यारत ऐ. कार्यालयका प्रमुख मुकुन्द प्रसाद पन्तको जाहेरी दरखास्त, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगञ्जबाट गठित छानबिन समितिले नेपाल सरकार गृह मन्त्रालयमा पेस भएको छानबिन प्रतिवेदन, पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानविन समितिको प्रतिबेदनका आधारमा किर्ते ठहर गरेको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको प्रतिवेदनमा भनिएको छ । वकिल कार्यालयले नेपाल सरकार समरजंग कम्पनीको कार्यालयबाट प्राप्त पत्रहरु, गुठी संस्थान कार्यालयबाट प्राप्त पत्रहरु, भूमिसुधार तथा मालपोत कार्यालयबाट प्राप्त पत्रहरु, नापी कार्यालयबाट प्राप्त पत्रहरु भुमिसुधार तथा व्यवस्थापन विभाग समेतका विभिन्न कार्यालयबाट प्राप्त पत्रहरु, बुझिएका मानिसहरुले गरेको घट्ना विवरण कागज प्रतिवादीहरु मीन बहादुर गुरुङ समेतले गरेको बयान समेतका आधार प्रमाणहरुबाट २०२१ सालमै सम्बन्धित जग्गाधनीलाई मुआब्जा दिई रितपूर्वक अधिग्रहण भएको उल्लेख गरेको छ ।