काठमाडौं – चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको श्रेष्ठको सचिवालयले जनाएको छ ।
बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
हाल श्रेष्ठलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार श्रेष्ठ अहिले खतरामुक्त छन् । बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको थियो ।


0 comment