काठमाडौं – सामान्यता कुनै देश, भुखण्ड, जमिन आदिको अन्तिम क्षेत्रलाई ‘सीमा’ भनिन्छ । ‘सिमाना’ त्यस्तो रेखा हो, जसले सार्वभौमसत्ता राष्ट्रको सबैभन्दा अन्तिम भूभागलाई अंकित गर्दछ । एउटा स्वतन्त्र राष्ट्रको तोकिएको निश्चित सिमाना हुन्छ । त्यस सिमाना भित्र स्थायी बासिन्दा अर्थात जनसंख्या हुन्छ । बास्तवमा सिमानाले जमिनमा अंकित  सीमा रेखामात्र जनाउँदैन । यो त, जमिनको सतहबाट सिधै तल पृथ्वीको बीच भागसम्म पुगेको र सिधै आकाश माथि सम्म पुगेको मानिन्छ । 

‘सिमाना’ भन्ने शब्दले दुइदेश बीचको सन्धिमा उल्लेख गरिएको निश्चित विन्दुलाई पनि जनाउँछ । पृथ्वी नारायण शाहले सूरु गरेको एकीकरण अभियान सन्दर्भमा नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म् पुगेको थियो । उनकै कान्छा छोरा बहादुर शाहले एकिकरण अभियानको नेतृत्व गरेका थिए । उत्तरमा तिब्बत तर्फ टासिल छुपोसम्म तन्किएको र दक्षिणमा घाघरा गंगा तथा यमुना गंगानदीको मैदानसम्म नेपालको सिमाक्षेत्र विस्तार भएको थियो । देशको पश्चिमी सिमानाले वि.सं. १८६३ मा कांगडा टंकेको थियो । तर तीनबर्षपछि वि.सं. १८६६ मा सतलज नदीको सिमानामा फर्कन पुग्यो । यसपछि भारतमा साम्राज्य जमाएको इस्ट इण्डिया  कम्पनी र नेपालका शासनबीच वि.सं. १८७२ चैत १ अर्थात अंग्रेजी महिनाको ४ मार्च १८१६ को सुगौली सन्धिको कारणले नेपालले पूर्वमा मेचीदेखि टिस्टासम्मको भूभाग, पश्चिममा महाकालीदेखि दक्षिणको सम्पूर्ण भूभाग गुमाउनु परेको थियो । नेपालका तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्ययले हस्ताक्षर गरेर अंग्रेज (इस्ट इण्डिया कम्पनी) सरकारका लेफिटनेन्ट कर्णेल पेरिस ब्राडसालाई हस्तान्तरण गरेको यस सन्धिमा पश्चिममा काली र पूर्वमा मेचीलाई मुलुकको सिमानाको रुपमा उल्लेख गरियो । सुगौली सन्धिले ग्रेटर नेपालको राजनीतिक एवं प्रशासनिक नक्सा नै परिवर्तन गरायो । 

सन् १८१४ देखि १८१६ सम्म नेपाल बिरुद्ध इस्ट इन्डिया कम्पनीले पाँच युद्ध मोर्चा बनाई युद्ध छेडेको थियो । जसमा नेपालले पश्चिम नेपालका दुईवटा मोर्चामा युद्ध हारेको थियो । तर अन्य तीनवटा मोर्चामा भने नेपालले विजयश्री प्राप्त गरेको थियो । यो अवस्थामा इस्ट इन्डिया कम्पनीले नेपालको राजदरबार भारदारहरुमा चलखेलगरी युद्धको धम्की डर, त्रास देखाई करकाप र दवावमा षडयन्त्रपूर्वक नेपाललाई सुगौली सन्धिमा हस्ताक्षर गराएको थियो । सुगौली सन्धि अघिसम्म काँगडादेखि टिस्टासम्म नेपाली भूमि ३ लाख ६० हजार ५७५ बर्गकिलोमिटर रहेको केही इतिहासकारहरुले लेखेका छन् । यो गंगानदीको उत्तरी मैदानको केही भूभाग बाहेकको क्षेत्रफल हो । दक्षिणको गंगानदीसम्मको क्षेत्रफल २५ हजार बर्गकिलोमिटर रहेको हुँदा त्यसबेला नेपालको कुल क्षेत्रफल ३ लाख ९२ हजार ५ सय ७५ बर्गकिलोमिटर रहेको इतिहासका जानकारहरु बताउँछन् यसरी सन् १८१४ देखि १८१६ मार्च ४ सम्म नेपालले २ लाख ५१ हजार ३ सय ९४ बर्गकिलोमिटर भूभाग गुमाउन पुगेको थियो । 

सुगौली सन्धि अघि नेपालले पूर्वीक्षेत्रमा युद्ध जित्दै  सिमाविस्तार गरेको थियो । तर पनि नेपालले मेची देखि टिस्टासम्मको र दक्षिणमा गंगासम्मको भूभाग गुमाउनु परेको थियो । अंग्रेजहरुसँग पूर्वक्षेत्रमा यद्ध भएको थिएन । अंग्रेजसँग सन्धि गर्न गएका मिश्र र उपाध्यायले अंग्रेजको लोभ र प्रलोभनमा परेर पूर्वको भूभाग समेत इस्ट इण्डिया कम्पनीलाई दिनेगरी गम्भिर राष्ट्रघात गरेका थिए । मातृभूमिप्रतिको यस्तो गद्दारीको पिडाले आम नेपालीलाई अहिलेसम्म मर्माहत बनाइरहेको छ । 

पछि सन् ११ डिसेम्बर १८१६ मा इस्ट इण्डिया कम्पनीले नेपाललाई कोसीदेखि राप्तीसम्मको केही भूभाग फिर्ता दियो । त्यस्तै सन् १८५७ मा अंग्रेज विरुद्धको “सिपाही विद्रोह” दवाए वापत तत्कालीन शासक जंगबहादुर राणाले सुगौली सन्धिबाट गुमेको नेपाली भूभागमध्ये सन् १८६० नोभेम्बरको सन्धि अनुसार राष्तिदेखि महाकालीसम्मको बाँके, बर्दिया, कैलाली र कन्चनपुर बकसस्वरुप फिर्ता ल्याए । नोपलको कूल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ बर्ग किलोमिटर कायम भयो । यो पछिल्लो पटक नेपाल सरकारले जारी गरेको चुच्चे नक्सा सहितको क्षेत्रफल हो । तर भारतले ७१–७५ भन्दा बढी स्थानमा सीमा अतिक्रमण गरेका कारण कूल क्षेत्रफल घटेको मानिन्छ ।