काठमाडौं – ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग सम्पर्क देखिएपछि पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सी. आईबी) ले सोधपुछ गरेको छ ।
यसैगरी हङकङबाट ल्याइएको सुनको अनुसन्धानका क्रममा सीआइबीले रुपन्देही घर भई हाल काठमाडौंको टोखा बस्ने सुमन खरेललाई आज दिउँसो कपिलवस्तुको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
खरेललाई आजै काठमाडौँ ल्याइ थप अनुसन्धान गरिने नेपाल प्रहरीका प्रवक्ता, कुबेर कडायतले जानकारी दिएका छन् । यो प्रकरणमा अहिलेसमम ६ विदेशीसहित २५ जनालाई प्रहरीले पक्राउ गरी सकेको छ । यसैबिच सुन तस्करी प्रकरणमा जोडिएको आशङ्कामा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लैजान लागेका बेला काठमाडौँको सिनामङ्गलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो ।
राजश्व अनुसन्धान विभागले साउन ३ गते लुकाएर ल्याइएको सुन बरामद गरेपछि यसको अनुुसन्धान सीआईबीले गरिरहेको छ ।

0 comment