काठमाडौं – अख्तियारको कर्मचारी हौँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा, धनुषाको हंसपुर नगरपालिका–३ बस्ने ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले, हामी अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौं, तपाईंको पसल सिल गर्छौँ, भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गरेको आरोपमा सोमवार जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमपुरा चोकस्थितबाट बि. आर. ३० एबी ८८०४ नम्बरको भारतीय मोटरसाइकलसहित पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
उनीहरुले, साउन ११ गतेदेखि भदौ १५ गतेसम्ममा जनकपुरधाम नगरभित्रका विभिन्न ७ वटा पसलहरूमा ठगी गरेका थिए ।
प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिई ठगी कसूर शीर्षक मुद्दामा ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

0 comment