काठमाडौं – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा, कैलालीको जोशीपुर गाउँपालिका – ४ लालपुर वाणीकी बस्ने २५ वर्षीया राधा परियार रहेकी छन् । 

परियारलाई अवधी नपुग्दै व्यथाले च्यापेपछि शुक्रबार सेती अस्पतालमा भर्ना भएकी थिईन । उनको शल्यक्रिया गरेर मृत नवजात शिशुलाई  निकालिएको थियो । सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि परियारलाई भेन्टिलेटरमा राखिएको थियो । प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताएका छन् । 

यता मृतकका आफन्तले भने, प्रसुती वार्डका नर्सिङ स्टाफ र डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै कारवाहीको माग गरेका छन् । मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्युु हुन पुगेको बताएकी छिन् । उनका दाजुले बहिनीलाई लिएर शुक्रबार अस्पताल आएको र आइतबारसम्म उनको शल्यक्रिया नगरिएको बताएका छन् । तर परियार मुर्छा परेको र आइसियुमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको अस्पतालले प्रारम्भिक जानकारी दिएको छ ।