काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेयर बालेन साहको अभिव्यक्तिलाई लक्षित गर्दै राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन आग्रह गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा दिएको अस्वभाविक र अमर्यादित अभिव्यक्तिलाई लक्षित गर्दै सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रसेवक कर्मचारीमाथि बाधा अवरोध नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेका हुन्।

गत शनिबार कोटेश्वरमा ट्राफिक प्रहरीले काठमाडौं महानगरको गाडी रोकेर सोधपुछ गरेको थियो। सरकारले सार्वजनिक बिदाको दिन सरकारी सवारी चलाउन निरुत्साहित गर्दै आएको छ। सार्वजनिक बिदामा सरकारी गाडी चलाउन पास चाहिने भएपनि महानगरको उक्त गाडीको पास थिएन। सो गाडीमा मेयर साहको पत्नी सविना सवार थिइन्। 

गाडीको पासबारे ट्राफिक प्रहरीले सोधपुछ गरेको थाहा पाएपछि मेयर साहले सिंहदरबारमा आगो लगाउने धम्की दिँदै सरकारलाई 'चोर'को संज्ञा समेत दिएका थिए। उनको सो अभिव्यक्तिप्रति चौतर्फी विरोध भइरहेको छ।

जिल्ला प्रशासन काठमाडौंले प्राप्त जिम्मेवारी पूरा गर्न फिल्डमा खटिने सुरक्षाकर्मी र कर्मचारीहरूको मनोबल बढाउन आग्रह गरेको छ। कर्मचारी वा सुरक्षाकर्मीहरूका बारेमा कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी गराउन समेत आग्रह गरेको विज्ञप्ति उल्लेख छ।

प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभुत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिवद्ध रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।