काठमाडौं - रुपन्देहीमा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ।
रुपन्देहीको सियारी गाउँपालिका–४ छपियामा ट्रक मुनि टिफिन जस्तो वस्तुमा राखिएको अवस्थामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको हो। बरामद बम पड्काएर डिस्पोज गरिएको घटना शनिबारको भएपनि प्रहरीले घटना सार्वजनिक गरेको थिएन।
पछिल्लो समय जिल्लामा बम विष्फोट, गोली प्रहार, चोरी, लुटपाट लगायत आपराधिक क्रियाकलाप बढेको छन्। जसकारण सर्वसाधारणहरू चिन्तित र भयभित छन्। पछिल्लो समय भएका बमसँग सम्बन्धित घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। हाल उनीहरू कारागारमा छन्। शान्ति सुरक्षाको कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी अपराध नियन्त्रण गर्नमा असफल हुँदा जिल्लामा शान्ति सुरक्षा खलबलिँदै गएको छ।
अपराध नियन्त्रणका लागि जिल्लामा प्रहरी सहायक निरीक्षक पवन जिसी र सागर भट्टराईको नेतृत्वमा दुई वटा छुट्टाछुट्टै टोली सादा पोसाकमा खटाइए पनि अपराध नियन्त्रणका लागि आवश्यक सूचना संकलन गर्नुपर्नेमा घुस लिएर सीमाबाट राजस्व छलीका सामग्री भित्र्याउनमा सहजीकरण गरिरहेको उनीहरूको माथि आरोप छ।
पछील्लो समय एउटा समुहले सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे र व्यवसायी भैरव प्रसाद कलवारको घर छेउमा बम विस्फोटन गराई ‘मधेस पिपुल्स पार्टी’ को नामबाट टेलिफोन मार्फत फिरौती रकम समेत माग गरेको रुपन्देही प्रहरीले पत्रकार सम्मेलनमा जनाएको थियो। अहिलेको घटनामा पनि त्यही समूहको संग्लनता रहेको प्रहरीको आंशका छ।


0 comment