काठमाडौं - ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीच आइतबार पनि झडप भएको छ । झडपमा क्रममा दुवै तर्फका गरी  दर्जनौं घाइते भएका छन्।

आन्दोलनकारी तर्फ ५५ जना घाइते भएको दाबी गरिएको छ ।प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुईजना आन्दोलनकारीलाई विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको छ। आन्दोलनकारीतर्फ ४ जना गम्भीर घाइते छन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरीतर्फ २० जना घाइते भएका छन्।जस मध्ये प्रहरी कमाण्डर प्रहरी निरीक्षक रोहित शर्मा गम्भीर घाइते भएका छन्। 

उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रजिअ शर्माले बताए। प्रहरीले फायर खोलेपछि आन्दोलनकारीहरू खुकुरी हतियार लिएर प्रतिकारमा उत्रेका थिए।

पाथीभरा क्षेत्रमा केबलकार बनाउँन हुँदैन भन्ने पक्षधर र प्रहरीबीच काफ्लेपाटीभन्दा एक किलोमिटर माथि रहेको बलुडाँडामा झडप भएको हो।शनिबार पनि पटक-पटक झडप भएको थियो ।केबलकार निर्माण प्रक्रिया अघि बढाएदेखि त्यहाँ विरोध सुरु भएको हो।