इँट्टा उद्योगमा नविनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड
काठमाडौं — वातावरण मैत्री इँट्टा उद्योगका साथै उद्योगमा नविनतम प्रविधिको सवालमा इँट्टा उद्योग व्यवसायी महासंघमा छलफल भएको छ । श्रम कार्यालय र वातावरण विभागको सहजीकरणमा महासंघका पदाधिकारी तथा उद्योग व्यवसायीहरुबीच छलफल भएको हो । विशेषगरी उद्योगका चिम्नीबाट निस्कीने धुँवाले वातावरण प्रदुषण हुने र उद्योगहरुलाई क्रमश वातावरणमैत्री बनाउदै लैजाने तर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिइएको थियो ।
श्रम कार्यालयले उद्योगमा बालश्रमको सावल उठाउदै १४ वर्षमुनीका कुनैपनि बालबालिकालाई उद्योगमा काममा लगाउन नपाइने ऐनले प्रष्ट व्यवस्था गरेको हुनाले आफ्ना नाइके र कर्मचारीहरुलाई सोही अनुसार व्यवसायीहरुले अभिमुखीकरण गराउन सुझाएको छ । उद्योगमा कुनैपनि वहानामा बालबालिकाको प्रयोग निषेध गरिएको कुरालाई उद्योगीहरुले ख्याल गर्नुपर्ने श्रम कार्यालयका प्रमुख उदय कुमार गुप्ताको भनाई थियो ।
उद्योगमा १५ देखि १८ वर्षसम्मका बालबालिकाले काम गर्नुपरेमा श्रम कार्यालयको अनुमति लिनुपर्ने हप्तामा ३६ घण्टा भन्दा बढी काममा लगाउन नपाइने सरकारले तोकेको न्युनतम तलव दिनुपर्ने लगायतका कुराहरुलाई लागू गर्नुपर्ने प्रमुख गुप्ताको भनाई थियो ।
त्यसैगरी वातावरण विभागकी वातावरण निरिक्षक हसना श्रेष्ठले उद्योगलाई नविनतम प्रविधि तर्फ लैजान सबैको भूमिका रहने कुरा औल्याउदै यसका लागि कानुन परिमार्जनमा समेत वातावरण विभागले पहल गरिरहेको र विशेषगरी चिम्नीबाट निस्कीने धुँवालाई नियन्त्रण गर्न उद्योग व्यवसायीहरु नै अग्रसर भएको अवस्थामा सहज हुने कुरा बताएकी थिइन । अब चिम्नीलाई टनेल चिम्नीमा रुपान्तरण गर्न सकियो भने प्रदुषण कम हुने अन्य देशबाट पनि पाइएकोले नेपालमा सोही अनुसार हुन जरुरी रहेको निरिक्षक श्रेष्ठको कथन थियो ।
छलफल कार्यक्रममा इँट्टा व्यवसायी महासंघ काठमाडौंका अध्यक्षले इँट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग बनाउदै वातावरण मैत्री उद्योग निमार्णमा संघको प्रयत्न जारी रहेको बताएका थिए । नविनतम प्रविधिको सवालमा हामी उद्योग व्यवसायी संघ पनि चनाखो रहेको छ भन्दै सरकारले पनि त्यही अनुसारको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।
राज्यले कानुन मात्रै बनाउनु भन्दा पनि उद्योगीहरुलाई हतोत्वसाहित नबनाई उद्योगीहरुको पिर मर्कालाई पनि नजिकबाट हेर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका थिए । सरकारले वातावरण बनाएको अवस्थामा हामी सरकारले भने अनुसार नै उद्योगहरु चलाउन तयार रहेको पनि उनीहरुको जोड थियो ।
बाल विकास समाजका प्रतिनिधिले संस्थाले ईट्टा उद्योगहरुमा नविनतम प्रविधिको विषयलाई पछिल्लो समय निकै जोडका साथ उठाउने गरेको बताएका थिए । कार्यक्रम बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र र्इँट्टा उद्योग व्यवसायी महासंघको समन्वयमा सम्पन्न भएको थियो ।


0 comment