काठमाडौं - चिनियाँ दूतावासले नयाँ वर्षको कार्यक्रम ठमेलमा गर्न मागेको अनुमतिलाई काठमाडौं महानगरले अस्वीकार गरेको छ ।

चिनियाँ दूतावासले ठमेल क्षेत्रमा जनवरी २९ देखि सुरु हुने चिनियाँ नयाँ वर्षमा एक महिना लामो विशेष कार्यक्रम गर्न अनुमति मागेको थियो। 

महानगरले अस्वीकार गर्दै धुलाम्मे चक्रपथमा गर्न ठाउँ देखाएको  बुझिएको छ ।चक्रपथ विस्तारको काम चीन सरकारले नै गरिरहेको छ । समयमै निर्माण सम्पन्न नहुँदा सडक धुलोले हिँडिसक्नु छैन ।

सडकको अवस्था देखेर पैदलयात्रीले महानगरलाई गाली गर्न थालेपछि उसले त्यसमा आफ्नो संलग्नता नभएको देखाउन बोर्ड नै टाँगेको थियो ।

महानगरले सूचना लेखेर बोर्ड नै टाँसेपछि सडक विभागले त्यसलाई हटाएको थियो। कलंकी-महाराजगञ्ज सडक विस्तारको काम नेपाल सरकार र चिनियाँ निर्माण कम्पनीले गरिरहेको छ ।