काठमाडौं - सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा अभियुक्त रवि लामिछानेलाई बुधबार परिवारको जिम्मा लगाएकोमा सरकारी वकिलले आपत्ति जनाएका छन्।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले बहस नसकिँदै परिवारको जिम्मा लगाएको भन्दै न्यायाधीश प्रल्हादकुमार योगीलाई थुनछेक बहसको औचित्यमाथि प्रश्न उठाएका हुन् । कसुरदार रहेको पर्याप्त प्रमाण रहेको र उनलाई हिरासतमै राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्नेमा न्यायाधीशले परिवारको जिम्मामा पठाएको भन्दै आपत्ति जनाए।
न्यायाधीश भने यस्ता प्रचलन पहिले पनि रहेको तर्क गरेका थिए। अहिले नै कसुरदार ठहर भई नसकेको अवस्थामा उनलाई परिवारकै जिम्मामा रिहा गर्नु उचित हुने रवि पक्षका वकिलको तर्क छ।अहिले सरकारी वकिलको तर्फबाट बहस भइरहेको छ।
खाजा ब्रेकसम्म जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ताहरू गोकर्णराज घिमिरे, सुनिल लामिछाने, वसन्तराज पोख्रेल र पवित्रा भण्डारीले बहस गरेका छन्।
त्यसपछि उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, उपन्यायाधिवक्ताद्वय प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन्।
सरकारी वकिलको बहसपछि जाहेरवालाको तर्फबाट बहस हुनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । सरकारी वकिल र जाहेरवालाको तर्फबाट जवाफी बहस भएपछि थुनछेकको आदेश आउने सम्भावना छ।यसअघि उनी सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख र स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख धरौटीमा रिहा भएका थिए।


0 comment