काठमाडौं - चितवनको भरतपुर बाइपास रोडमा एक युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरिएको छ ।

भिडिओ सार्वजनिक भएपछि छानबिन गरेर घटनामा संलग्न अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको जनाइएको छ। 

घटनाको छानबिन गर्न आज (सोमबार) बिहान मात्रै जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोको  नेतृत्वमा समिति बनाइएको छ। उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा सवारी चेकजाँच गर्ने क्रममा सेतो सर्ट र कालो पाइन्ट लगाएका ती युवकमाथि ड्युटीमा खटिएका प्रहरीले लखेटि लखेटि लात्ति प्रहार गरेको देखिन्छ ।घटना पुस १५ गते राति १०:१० बजे भएको थियो ।