काठमाडौँ — प्रेम सम्बन्धमा रहदा एक अर्काको विश्वास हुन्छ नै त्यही विश्वासको आधारमा एकअर्काका नीजि कुराहरु एकअर्कामा आदानप्रदान हुन्छन । मनमिल्दा गरिएका क्रियाकलाप मन टुटेपछि बाहिर ल्याएर व्लाकमेलिङ गरेर चरित्र हत्या गर्ने प्रवृत्ति पछिल्लो समय निकै बढिरहेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी हतारिएर नजिकीने र मनमुटाव भएपछि एकअर्कालाई सिद्याउने हर्कतको सिकार युवायुवति भइरहेको पाइन्छ । यस्तै हर्कतको सिकार भइन एक युवति । 
चरित्र हत्या गर्ने मनसायले अश्लील भिडियो बाहिर ल्याउने एक पुरुष प्रहरीको फन्दामा परेका छन । साइबर अपराधको आरोपमा प्रहरीले  ३१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर अपराध ब्युरोले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ५ स्थायी वतन भई हाल काठमाडौँको बौद्ध नयाँ बस्तीमा बस्दै आएका सरोज कटवाललाई पक्राउ गरेको हो । कटवालले पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितको बहिनीलाई पठाइदिएपछि प्रहरीमा उजुरी परेको थियो । यस सम्बन्धमा अनुसन्धान हुँदा कटवालको संलग्नता खुलेपछि पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको ब्युरोले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी व्युरोले बताएको छ ।