काठमाडौं - निर्माण व्यवसायी महासंघले आफूहरुको माग पूरा गर्न सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएका छन् ।महासंघले आज (बुधवार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारविरुद्ध चरणवद्ध रुपमा सडकमा जाने घोषणा समते गरेको छ । 

महासंघको राष्ट्रिय भेलाले सरकारले निर्माण व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन नगरेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।  निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्य वृद्धि,भुक्तानी अभाव,सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता जस्ता समस्या समाधान नगरेको भन्दै आन्दोलनको घोषणा गरेको महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा  महासंघका महासचिव रोशन दाहालले माघ ३ गतेदेखि ७ गतेसम्म प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु,राजनितिक दलका अध्यक्षहरु,संघीय सरकारी निकाय,प्रदेश महासंघले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई माग पूरा गराउन माघ १५ गतेसम्मको अल्टिमेटम दिने बताए ।साथै महासंघले आगामी माघ १८ गते काठमाडौंको माईतीघर मण्डलामा र माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ ।

माघ २१ गतेदेखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने महास‌‌घले चेतावनी दिएको छ । त्यसपछि पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने जनाएको छ ।