काठमाडौँ — विचल्लीमा परेका वेचिएका महिलाहरुको साहारा बनिरहेको गैर सरकारी संस्था माइती नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रु एक करोड सहयोग गर्ने घोषणा गरे ।
गौशालास्थित संस्थाको केन्द्रीय कार्यालयमा स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा ओलीले गरेका थिए । संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग प्रधानमन्त्री ओलीले छलफल समेत गरेका थिए । छलफलपछि सरकारले गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्न आवश्यक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास समेत दिलाएका थिए ।
नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको हो तर पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई संस्थाले निरन्तरता दिएकोमा खुशी लागेको बताए । प्रधानमन्त्री ओलीले संस्थामा सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुलको पनि अवलोकन गरेका थिए ।


0 comment