काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले  सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । 

सोमबार दिउँसो सिंहदरबार पुगेका राष्ट्रपति पौडेलले निर्माणाधीन भवनबारे चासो राख्नदै प्राविधिकहरूसँग जानकारी लिए । राष्ट्रपतिसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नरायण दाहाल लगायत पनि निर्माणाधीन संसद् भवन अवलोकन गर्न पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबार परिसरभित्र शिलान्यास गरेका नयाँ संसद् भवन अझै तयार भई सकेको छैन । तीन वर्षमा भवनको निर्माण सम्पन्न गर्ने भनिएको थियो। 

पटकपटक सरकारका मन्त्रीहरुले निरीक्षण गर्दै ठेकेदार कम्पनीलाई छिटो सक्न निर्देशन दिए पनि काममा अझै पनि सन्तोषजनक प्रगति भएको छैन ।सम्झौताअनुसार १५ असोज २०७९ मा संसद भवन तयार भइसक्नुपर्ने थियो । 

संसद भवन निर्माणमा ढिलाइ हुँदा सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई महँगो भाडा तिर्नुपरेको छ । टुन्डी शेक जेभीले भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा यो भवन निर्माण गर्ने ठेक्का पाएको हो ।