काठमाडौं – डोटी जिल्लामा ड्युटीको क्रममा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी सहायक हवल्दार इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीको क्रममा बेहास भएर ढलेका थिए । 

बुधबार बिहान तीन बजेतिर उनी इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यालयको ड्युटीमा खटिएका थिए। उनलाई बिहान ३ देखि ६ बजेको ड्युटीमा खटाएको थियो। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ घर भएका ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको मृत्यु भएको हो। 

ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको एक्कासि छाती दुख्यो भन्दै बेहोस भएका थिए।  सोही स्थानमा रहेको बिपिनगर पोलिक्लिनकमा सामान्य चेकजाँचपछि थप उपचारका लागि पोलिक्लिनिकले बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ६ः३२ बजे सेती प्रादेशिक अस्पतालमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए। मृतकका परिवारमा श्रीमती र १५ वर्षकी छोरी छन्।