काठमाडौं - बढ्दो जाडोसँगै शितलहर चल्दा तराईका जिल्लाहरुमा जनजिवन कष्टकर बन्दै गएको छ ।  

वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । 

महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिनुभयो ।

अत्यधिक चिसो बढेपछि सर्लाहीको सदरमुकाम मलङ्गवा–१० का स्थानीयवासी चिसोबाट बच्न टायर समेत बालेर आगो ताप्ने गर्दछन् । तर टायर बालेर आगो ताप्नु स्वास्थ्यका लागि हानिकारक रहेको स्वास्थ्यकर्मीको भनाई छ ।

अत्यधिक चिसो र शितलहर बढेपछि टोलटोलमा चोकचोकमा दाउरा बालेर आगो ताप्ने गरेका छन् ।