काठमाडौं - सुदुर पूर्वको दुर्गम जिल्ला मानिने खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय सञ्चालनमा ल्याएको जनाएको छ । सबै हिसावबाट दुर्गम मानिने जिल्ला पछिल्लो समय शिक्षामा फड्को मार्ने क्रममा रहेको छ ।

गरिबी र अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न ‘निःशुल्क आवासीय शिक्षा कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले विद्यालय स्थापना गरेको बताइएको छ ।

गाउँपालिकाको जन्तेढुङ्गा–३ काहुले स्थितमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रमले हाल १९ छात्रछात्रालाई भर्ना गरी शिक्षाको अवसर दिइएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष अरुणादेवी राई (दिक्षा) का भनाई छ, विद्यार्थीलाई खाना, खाजा, कपडा, किताब, कापी, कलम र झोलासहित बस्ने आवाससमेत निःशुल्क उपलब्ध छ । कार्यक्रममा ‘गरिब, दलित र असहाय’ सूचिमा पर्ने बालबालिकालाई समेटिएको छ । अध्यक्ष राईका अनुसार “कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो ।

कक्षा १ देखि १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिनुका साथै दुई जना शिक्षक र अन्य कर्मचारीलाई चौबीसै घण्टा विद्यार्थीको रेखदेख र अध्यापनका लागि खटाइएको छ । उपाध्यक्ष खेमबहादुर खड्काले बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न प्रभावकारी उपाय अपनाइएको जानकारी दिए।कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई (पासाङ) ले गरे । उनले सबै वर्ग र समुदायका बालबालिकाका लागि यस्ता कार्यक्रम आवश्यक भएको बताउँदै जन्तेढुङ्गाको प्रयासको प्रशंसा गरे ।

सांसद राईले सामुदायिक विद्यालयलाई आवासीयमा रूपान्तरण गर्न शिक्षा विधेयकमा नीति समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाए । “सामुदायिक विद्यालय विद्यार्थीको पहुँचभन्दा बाहिर नरहोस् भनेर विधेयकमा आवासीय शिक्षा प्रणालीको व्यवस्था गर्न माग गरेको छु,”उनले भने । विद्यालयका प्रधानाध्यापक कृष्ण राईका अनुसार हाल १५ छात्र र ४ छात्राले अध्ययन गरिरहेका छन् । उनीहरूको सम्पूर्ण व्यवस्था निःशुल्क गरिएको छ । दलित, गरिब र असहाय बाहेकका विद्यार्थीले पनि वार्षिक ४० हजार रुपैयाँ शुल्क तिरेर आवासीय सुविधा उपयोग गर्न सक्नेछन् ।

विगत दुई वर्षदेखि छात्रवृत्तिका माध्यमबाट बाली विज्ञान विषयको अध्ययन गरिरहेका ६ जना विद्यार्थीलाई गाउँमा सेवा गर्ने शर्तमा सहयोग प्रदान गरिँदै आएको छ ।