काठमाडौं - गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउने गर्छन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । 

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ।

तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ । 

राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख छ।”

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने स्पष्ट पार्नुभएको छ । 

नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिले बताउनुभएको छ।

राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । 

तमु ल्होसारका अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमाफर्त गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिनुभएको हो । 

उहाँले सन्देशमा भन्नुभएको छ, “संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना १” सामाजिक सञ्जालमा भनिएको छ “तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ ।” 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

तमु ल्होसारले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्ने सभापति देउवाको विश्वास

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएको छ ।

तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

तमु ल्होसार / ल्होछारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।