काठमाडौँ —आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने जनाएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेका थिए । 
उक्त आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले बताएका छन । ‘सर्वोच्चबाट पत्र आएको छैन, पत्र प्राप्त भएपछि पुनरावलोकनमा जान्छौँ उनले भने । ’साइबर सम्बन्धी कसुरमा ४० हजार धरौटीमा छुटेपछि प्रहरीले प्रसाईंलाई फेरी म्याद थप गर्न अदालतमा उपस्थित गराएको थियो । 
प्रसाई विरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले बताएका छन । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिश्चन्द्र फुयाँलसँग प्रसाईंको ‘कनेक्सन’ रहेको पाइएको हो  । फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने धम्की दिने गरेको पाइएको थियो । अभियन्ता प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध विभिन्न लान्छाना लगाएपछि प्रहरीको निसानामा परेका थिए । ओलीको कम्वोडिया लगानी देखि एमाले नेतालाई बलत्कारी समेत भन्न भ्याएका प्रसाई यो व्यवस्था नै उल्टयाउने अभियानमा लागि रहेका छन । जनताले साथ दिएको अवस्थामा व्यवस्था विरुद्ध नेतृत्व लिने उद्घोषसमेत प्रसाइको छ ।