काठमाडौँ - केही दिनअघि पानी परेर सुधार भएको मौसम आज (शुक्रबार) साँझदेखि पुनः बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज साँझदेखि देशका अधिकांश स्थानमा वर्षा हुने र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

बिहीबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले उक्त प्रणालीका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेग तथा गण्डकी, बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि विभागले भनेको छ ।

‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध छ,’ विभागले भनेको छ । त्यसैगरी, आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई पनि भनिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गत सोमबार र मंगलबार देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो ।