काठमाडौं - सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतको बयान आज पनि हुने भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा हिजो बिहीबार दिउँसोबाट सुरु भएको बयान नसकिएपछि बाँकी बयान आज हुन लागेको हो ।

सोमबार र मङ्गलबार अदालतमा लगिए पनि पालो नआएका कारण बयान हुन सकेको थिएन । 

मङ्गलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो ।

जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा लिएको बयान सकिएको छ । छविको बयान मङ्गलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान भएको छ । 

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । 

सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।