काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको मृत्यु भएको छ । अर्थशास्त्रीसमेत रहनुभएका भारतीय पुर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको हिजो विहिबार राति ९२ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

उपचारको क्रममा गएराती करिब पौने १० बजे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको इन्डियन एजेन्सिले जनाएको छ । 

पूर्व अर्थमन्त्रीसमेत रहेका डा. सिंहलाई भारतको अर्थतन्त्रको योजनाकारसमेत मानिन्छ । सन् २००४ देखि २०१४ सम्म कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) अन्तर्गत गठबन्धन सरकारको नेतृत्व गर्दै मनमोहन सिंह लगातार २ कार्यकाल प्रधानमन्त्री बनेका थिए । उनले सन् १९९१ मा पिभी नरसिंहा राव सरकारमा अर्थमन्त्रीका रूपमा भारतको आर्थिक उदारीकरणलाई अघि बढाएका थिए ।

बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो । उहाँको निधनको समयमा काँग्रेस वरिष्ठ नेतृ सोनिया गान्धी पनि अस्पताल पुगेकी थिइन्।

सन् १९९० को दशकमा भारतीय अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँ पिभी नरसिंह रावको नेतृत्वको सरकारमा सन् १९९१ देखि १९९६ सम्म अर्थमन्त्री रहनुभएको थियो। उहाँको समयलाई आर्थिक उदारीकरण र समाजवादी अर्थतन्त्रको समयमा रूपमा लिइन्छ।

योजना आयोगको उपाध्यक्षका रूपमा पनि काम गरेका उनी सन् १९८२ देखि १९८५ सम्म भारतीय रिजर्भ बैंकमा गभर्नरसमेत थिए । सिंहको जन्म २६ सेप्टेम्बर, १९३२ मा ब्रिटिस भारतको पन्जाब प्रान्तको गह गाउँमा भएको थियो । सो स्थान हाल पाकिस्तानमा पर्छ । सन् १९४७ मा पाकिस्तान छुट्टिएपछि उनको परिवार भारत बसाइँ सरेको थियो ।

‘दिवंगत महानुभावप्रति सम्मान स्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ’, भारत सरकारले शुक्रबार एक विज्ञप्तिमा भनेको छ, शोक जनवरी १ सम्म मनाइनेछ ।