काठमाडौं - माओ दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री ओलीलाई जनयुद्धले लगाईदिएको ताज फुकालेर हस्तान्तरण गर्न चेतवानी दिएका छन् । माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको पनि विप्लवले टिप्पणी गरे । उनले माओवादी वर्गप्रति इमान्दार हुन नसकेको हो कि भन्ने पनि बताए।

अहिले माओवादीविरुद्ध भयाङ्कर गोलावारीहरु चलिरहेको पनि उनले बताए । ‘जनयुद्ध के थियो भन्नेबारेमा त्यसलाई विषयान्तर गर्ने, तोडमोड गर्ने, जनयुद्धलाई लागेपुगेसम्म जनताको हातबाट खोस्ने र जनयुद्धमाथि हमला बोल्ने लडाइँ चलिरहेको छ,’– उनले भने, ‘जसलाई जनयुद्धको ज पनि थाहा छैन । ती मान्छेहरुले जनयुद्धको बारेमा भयाङ्कर ठूलो हमला बोलिरहेको बेलामा हाम्रो कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ ।’

उनले जनयुद्धलाई विषयान्तर गर्न खोज्नेहरुलाई ढेडुको संज्ञा दिए । उनले अहिले नेपाल दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताए । माओवादीले सामन्तवादलाई पछारेपनि दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी नै रहेको विप्लवको भनाइ छ । माओवादीले युद्ध जित्नै बाँकी रहेको उनको भनाइ छ ।