काठमाडौं — ३२ वर्षदेखि सामाजिक क्षेत्रमा कार्यरत बाल विकास समाजले महिलाहरुलाई आत्म निर्भर बनाइरहेको छ । संस्थाले विभिन्न जिल्लाबाट आई उपत्यकामा बसेका महिलादिदीहरुलाई ९० दिनको सिलाई कटाई तालिम सञ्चालन गरेको हो । विशेषगरी विभिन्न जिल्लाबाट काठमाडौं महानगरपालिका वडा नंं १६ मा आई बसोबास गरिरहेका बेरोजगार निम्न आर्थिक अवस्था भएका महिलादिदीबहिनीहरुलाई निशुल्क तालिम सञ्चालन गरेको हो ।
९० दिन तालिम लिएका २० जना महिलाहरुलाई संस्थाले एक कार्यक्रम गरी काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा सदस्य शारदा सुवेदीको उपस्थितीमा मेसिन र प्रमाणपत्र हस्तान्रण गरेको हो । कार्यक्रममा बोल्दै वडा सदस्य सुवेदीले महिलालाई आत्मनिर्भर बनाउने अभियानमा संस्थाले गरेको काम अनुकरणीय रहेको बताइन ।
वडामा रहेको महिला सञ्जालमार्फत पनि महिलालाई आत्म निर्भर बनाउने काममा हामी सहकार्य गर्न सकिने कुरा उल्लेख गर्दै निशुल्क रुपमा पाएको तालिम र मेसिनसहितको सहयोगलाई दिदीबहिनीहरुले सदुपयोग गर्नुपर्ने उनको जोड थियो । तालिममा सहभागी भएका महिलाहरुले संस्थाले हामीलाई आत्मनिर्भरताको लागि गरेको सहयोग स्मरणीय रहेको र यसबाट आफै कमाउने र कमाएको पैसाले छोराछोरीलाई राम्रो शिक्षा दिने काममा लगानी गर्न थप सहयोग हुने बताए ।
बाल विकास समाजले बालबालिकाका लागि काम गरिरहेको भए तापनि महिलालाई आत्मनिर्भर बनाउन सकियो भने बालबालिकाको शिक्षा स्वास्थ्य लगायतको सेवामा पहँुच वृद्धि गर्न थप टेवा पुग्ने कुरामा संस्थाको विश्वास रहेको संस्थाका कार्यक्रम व्यवस्थापक प्रदिप श्रेष्ठले विशाल नेपाल अनलाइनलाई बताए ।
कार्यक्रमको लागि आर्थिक सहयोग वल्र्डभिजन इन्टरनेस्नल नेपालले गरेको थियो भने ९० दिनसम्म महिलाहरुलाई तालिम दिने कार्यको संयोजन वल्ड लिङ इन्सीच्युटले गरेको थियो ।


0 comment