काठमाडौं - कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न विद्यालयहरूमा गएर विद्यार्थीलाई इसाई धर्मको बारेमा प्रवचन दिने पास्टर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई विभिन्न विद्यालयमा गएर विद्यार्थीहरूलाई इसाई धर्मको प्रचार गरेको आरोपमा पक्राउ परेका हुन्।
पास्टर भट्टराईले नगरपालिकाको वडा नं. ५ स्थित जनप्रभात माध्यमिक विद्यालय, वडा नं. १ को सहिद स्मृति माध्यमिक विद्यालय र जानकी आधारभूत विद्यालयमा क्रिसमसको उपहार स्वरुप झोला, चकलेट बाँडेर विद्यार्थीलाई धर्मको बारेमा प्रवचन दिएका थिए। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमै विद्यालयमा पुगेर झोला, चकलेट वितरण गरेका फोटोहरूसमेत सार्वजनिक गरेका हुन्।
सहिद स्मृति माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई विद्यालय परिसरमा लाइन लगाएर इसाई धर्मसम्बन्धी प्रवचन दिइरहेका भट्टराईको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल बनेको थियो।
विद्यालयमा विपन्न बालबालिकालाई झोला वितरण गर्न भन्दै आएका पास्टर भट्टराईले इसाई र बाइबलमाथि लामो प्रवचन दिएका छन्। आफूहरूलाई झुक्याएर पास्टर भट्टराईले बाइबलको प्रचार गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकालले बताए। पास्टर भट्टराईले लम्कीका अन्य विद्यालयमा पनि क्रिसमसको अवसर पारेर उपहार दिने गरेको उनको भनाइ छ।
‘उपहार दिने भनेर विद्यालयमा मलाई पनि बोलाइएको थियो। अन्तिम पिरियडमा पास्टर भट्टराईले शुभकामना दिन्छु भनेर बोल्न थालेका हुन्,’ उनले भने ‘बाइबलको बारेमा बोल्न थालेपछि पछि मैले त्यो कुराको खण्डन पनि गरेको हुँ। पास्टर भट्टराईले हामीलाई समेत झुक्याउने काम गरेका छन्।’
भट्टराईले विद्यालयमा खेलकुद सामग्री, विपन्न विद्यार्थीहरूलाई झोला, चकलेट वितरण गर्दै आएका थिए। केही दिनअघि जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ५ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा समेत बाइबलबारे प्रवचन दिएका थिए। विद्यालयका विद्यार्थीहरूले भट्टराईको कुराप्रति आपत्ति जनाएपछि उनी त्यहाँबाट हिँडेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार विद्यालयमा पुगेर विद्यार्थीहरूलाई धर्म परिवर्तनका लागि प्रेरित गरेको आरोपमा चर्चका पास्टर भट्टराईलाई पक्राउ गरिएको हो। ‘धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थप गर्दै भट्टराईमाथि अनुसन्धान गरिरहेको छ,’ प्रहरी उपरीक्षक विष्टले भने, ‘भट्टराईले विद्यालयमा पुगेर शैक्षिक र खेलकदु सामग्री वितरण गर्ने र विद्यार्थीहरूलाई इसाई धर्ममा लाग्न प्रेरित गर्दै आएको आरोप छ।’
नेपालको संविधान २०७२ को धारा २६ मा ‘कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ’ भन्ने उल्लेख छ।


0 comment