काठमाडौं – सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान हुँदैछ। लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान आज हुन लागेको हो।

मुद्दाको सुनुवाइका लागि न्यायाधीश नितिज राईको इजलासमा पेशी तोकिएको छ। यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो ।  

छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँचजना प्रतिवादीको बयान हुने जिल्ला अदालत कास्कीले जनाएको छ। बयान सकिएपछि थुनछेक आदेश हुनेछ

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा उनीहरूविरुद्ध तीनवटा कसूरमा मुद्दा दर्ता भएको छ। पाँचजनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिल कार्यालयको सुझाव छ। सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसूरमा ८ कम्पनी र ३६ व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ।

लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको  जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ। लामिछानेसँगै जोशी, खनाल, पछाई र गुरूङविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा  २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबी माग गरिएको छ। यसैगरी जोशीविरुद्ध  ७४ करोड ३४ लाख ७१ हजार, खनालसँग १४ करोड ३० लाख ९१ हजार ९ सय ११ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी माग गरिएको छ।

सम्पत्ति शुद्धिकरणमा मुछिए पछि लामिछानेको सांसद पद समेत निलम्बनमा पर्ने भएको छ। मुद्दाको अन्तिम किनारा नलाग्दासम्म लामिछानेको सांसद पद निलम्बन हुने भएको हो।

सहकारी ठगीतर्फ लामिछानेलाई ३ करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग २ करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनीमाथि कास्कीसहित काठमाडौं,चितवन,रुपन्देही र पर्सामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।