काठमाडौँ — ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीको बहस आइतबार पुरा नभएपछि प्रहरी हिरासतमा नै बास भएको छ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा बिनुलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।
आइतबार बयान भएपनि समय अभावका कारण थुनछेक बहस सुरु नभएको ललितपुर जिल्ला अदालतका एकजना अधिकृतले बताएका छन । अदालतको आदेश अनुसार शाहीलाई हिरासतमा राखिएको ललितपुरका एसएसपी शेखर खनालले बताएका छन ।
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापासहित ६ जनाविरुद्ध सीआईबीले मुद्दा दायर गरेको हो । घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएपछि इन्स्पेक्टर बिनु शाही पनि मुछिएकि हुन ।


0 comment