काठमाडौँ — आफ्नै बुबाले छोराको हत्या गरेको सुन्दा पत्यार नलाग्न सक्छ तर पत्याउनु पर्ने घटना भक्तपुरमा भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर–२ मा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् । गएराति घरायसी विवादमा अछामको कमलनगर नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई चक्कु प्रहार गरेका थिए । 
६३ वर्षीय दीप बहादुरले चक्कु प्रहार गर्दा नरेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताएका छन् ।
 हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा उनले छोरालाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।