काठमाडौं - कञ्चनपुरमा चुरे क्षेत्रको निषेधित क्षेत्रबाटै नदीजन्य पदार्थको उत्खनन् भइरहेको पाइएको छ। जिल्लाको कृष्णपुर नगरपालिकामा पर्ने चुरे क्षेत्रबाट अबैध रुपमा ढुङ्गा र गिट्टी उत्खनन् भइरहेको छ।
कृष्णपुर नगरपालिका–१ मा पर्ने बण्ड र ओदाली खोलाको चुरे क्षेत्रबाट अबैध उत्खनन् भइरहेको स्थानीयको गुनासो छ। ढुङ्गा, गिट्टी र बालुवा उत्खनन्को ठेक्का पाएको आरभ निर्माण सेवाले निषेधित क्षेत्रमा उत्खनन् गरिरहेको स्थानीयले बताएका हुन्। ओदाली र बण्ड खोलाको चुरे क्षेत्रबाट निर्माण कम्पनीले एक्स्काभेटर लगाएर धमाधम उत्खनन् गरिरहेको छ। मापदण्ड विपरीत उत्खनन् भइरहे पनि नियमन निकाय भने मौन छ।
एक्स्काभेटर लगाएर उत्खनन्
जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित बण्ड नदी र ओदाली खोलाबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् हुँदै आएको छ। चुरे फेदको ३ किलोमिटर क्षेत्र भित्रबाट उत्खनन् गर्न नपाइने प्रावधान विपरित ठेक्का हात पारेको आरभ निर्माण सेवाले चुरे नजिकैबाट उत्खनन् गर्ने गरेको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार व्यवसायीले बिहान चार बजे नै चुरे फेदमै पुगेर एक्स्काभेटर लगाएर नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका छन्।
चुरेको निषेधित क्षेत्रमा पुगेर उत्खनन् हुँदा पनि सरोकारवाला निकायले कुनै चासो दिएका छैनन्। उक्त क्षेत्रमा पर्ने विशाल सामुदायिक वनकी वन हेरालु लालमती धानुकले जबरजस्ती गरेर केही व्यवसायीले निषेधित क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने गरेको बताइन। उनले व्यवसायीहरूले बिहान चार बजे नै आएर चुरे क्षेत्रको निषेधित क्षेत्रबाट उत्खनन् गर्ने गरेको बताइन्।


0 comment