काठमाडौं- बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कारपियो गएराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
नम्बर खुल्न नसकेको स्कारपियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको रौतहटका प्रहरीले जनाएको छ ।
मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल अस्पतालमा राखिएको छ । गाडी र मृतक सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीले जनाएको छ ।
सिरहाको अर्नमा गाउँपालिका- ३ बाट गढीमाई मेला गएको र फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


0 comment