काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा प्रहरी उच्च अधिकारीहरुसँग जानकारी लिँदै अनुसन्धान सुरु गरेको छ । आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्व गृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानव अधिकार हनन् गरिएको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको छ ।
‘घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्च अधिकारीहरुसँग आज आयोगले थप जानकारी लिएको छ’ आयोगका प्रवक्ता पोखरेलले भने– ‘जानकारी लिने क्रममा आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूति सहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्नेमा आयोगको चासो रहेको बताउनुभयो । ’ यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको उनको भनाई थियो । रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा प्रहरीद्धारा दुव्र्यवहार गरेको बारे सञ्चारमाध्यमबाट बाहिर आएपछि सबैतिरबाट विरोध भइरहेको छ । दुव्यर्वहार भएको भन्ने उजुरी नै परेपछि आयोगले चासोका साथ सक्रियता जनाएको हो ।


0 comment