काठमाडौँ — कोशी प्रदेशका पूर्व कानुन मन्त्रीले मानव तस्करी अभियोगबाट उन्मुक्ती पाएका छन । सत्तासिन दलका मन्त्री भएकै कारण उनीमाथी लागेको अभियोग अगाडी नबढेको टिपणी भइरहेका बेला पूर्वकानुन मन्त्री लिलाबल्लभ अधिकारी विरुद्धको रिट दरपीठ गर्ने निर्णय सदर गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि प्रशासनबाट दरपिठ गर्ने निर्णय कानुन सम्मत नै भएको आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै अब अधिकारीमाथि कुनै अदालतमा तत्काल मुद्दा नचल्ने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट सर्वोच्चमा पेस गरेका थिए । मङ्सिर १६ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका थिए । त्रिपाठीले गत शुक्रवार सर्वोच्चमा रिट पेस गरेका थिए । मानव तस्करी गर्ने एक समूहसँग मन्त्री अधिकारी पनि जापान पुगेका थिए । उनी जापानी अध्यागमनबाटै फर्केपछि प्रहरीले मानव तस्करीमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि मन्त्री अधिकारीलाई पनि हिरासतमा लिइएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले केही दिन अघि जिल्ला अदालतमा मुद्दा दायर गर्दा मन्त्रीलाई विभिन्न नौ आधार देखाउँदै मुद्दा नचल्ने निर्णय गरेको थियो । उक्त निर्णय बदर हुनुपर्ने र पुनः अभियोग पत्र दायर गर्नु भनी आदेश माग गरेर त्रिपाठी सर्वोच्च पुगेका थिए । तर सर्वोच्चका रजिस्ट्रार पोखरेलले भने मुद्दा चलाउने वा नचलाउने अधिकार जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखलाई ऐनले नै दिएकाले त्यस विरुद्ध रिट दर्ता नहुने भनेको थियो । अधिकारी विरुद्धको रिट निवेदन सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ता गर्न नमिल्ने आदेशमा उल्लेख थियो । उक्त आदेश विरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले इजलासमा निवेदन दिएका थिए ।
सर्वोच्चको यो आदेशपछि अब रिट निवेदन दर्ता गरेर सुनुवाइ अघि नबढ्ने गरी टुङ्गो लगाएको छ । सर्वोच्चको इजलासले दरपिठ सदर गरेपछि निवेदन त्रिपाठीले न्यायको सबै ढोका बन्द गर्ने काम भएको र यो विगतमा भएका नजिरहरू विपरीत भएको टिप्पणी गरेका छन ।


0 comment