काठमाडौं — बारा जिल्लाका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको हो । 

आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ मा रहेको घरबाट फर्किने क्रममा गोली प्रहार गरीएको थियो । गोली प्रहार गरेपछि प्रमुखको तत्काललै निधन भएको थियो । घटनाका फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताएका छन । प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको प्रवक्ताले पुष्टि गरे ।  

करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता सापकोटा बताउँछन् ।  मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।  पक्राउ परेका कुशवाहालाई बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बारा प्रहरीले तयारी गरेको छ भने गएको ३२ जेठमा घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो । क्पाम्पस प्रमुखको हत्यापछि सिंगो गाउ नै स्तब्ध भएको थियो ।