काठमाडौँ । विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुल गर्न भन्दै निर्देशन दिएपछि नेपाल विद्युत् प्राधिकरणले अन्य विकल्प अघि सार्दै बक्यौता उठाउने तयारी गरेको छ । बुधबार बसेको बोर्ड बैठकपछि प्राधिकरणले विद्युत् नियमन आयोगलाई ५ बुँदे पत्र लेख्दै चालिएका विभिन्न वैकल्पिक माध्यमका बारेमा जानकारी गराएको छ ।
बोर्ड बैठकले उद्योगहरूको नियमन आयोगको निर्देशनअनुसार विद्युत् लाइन नकाट्ने निर्णय गरेको छ । सो निर्णयपछि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्ने, सेयर निष्कासनमा रोक लगाउने तथा सेयर हस्तान्तरण र धितोबन्धकीमा समेत रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरेर त्यसबारे नियमन आयोगलाई जानकारी गराउँदै उद्योगीको घरको विद्युत् लाइन काट्न अनुमति मागेको छ ।
आयोगले नै भनेको ‘वैकल्पिक उपाय’ कार्यान्वयन गर्ने भन्दै बक्यौता असुलीका लागि अन्य उपाय अपनाएको प्राधिकरणले जनाएको छ । सोही आधारमा मन्त्रिपरिषद्को निर्णय र आयोगको निर्देशन कार्यान्वयन गर्न प्राधिकरणले विभिन्न निकायलाई पत्र पठाएको हो ।
प्राधिकरणले जारी गरेका सबै पत्रको सुरुआतमा भनिएको छ, ‘नेपाल सरकारको निर्णय एवं विद्युत् नियमन आयोगको डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल सम्बन्धमा प्राप्त पत्रमा उल्लेख भएको नेपाल विद्युत प्राधिकरणले बक्यौता असुलीका लागि उद्योगको विद्युत् विच्छेदको कारबाहीबाहेक अन्य कारबाही गरी बक्यौता असुलउपर गर्न निर्देशन भएअनुसार प्रस्तुत पत्र लेख्ने कार्य भएको छ ।’
गत २७ कात्तिकमा बसेको प्राधिकरण बोर्ड बैठकले १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो । २५ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले तोकेको उक्त समयसीमा बुधबार सकिएकाले पुनः लाइन काट्ने तयारी थियो । तर, मंगलबार नियमन आयोगले प्राधिकरणलाई सबै निर्णय यथास्थितिमा राख्न निर्देशन दिँदै प्राधिकरणको तयारीमा रोक लगाइदिएको थियो । आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णयअनुसार बक्यौता उठाउन र अरू निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएसँगै उद्योगको लाइन काट्ने प्राधिकरणको तयारीमा ब्रेक लागेको हो ।
बक्यौता उठाउनकै लागि प्राधिकरणले पटक–पटक उद्योगहरूको लाइन काटिसकेको छ । लाइन काटेपछि केही उद्योगले बक्यौता तिरे पनि राजनीतिक लबिइङ गर्दै केही उद्योगहरूले भने पैसा तिर्न मानेका छैनन् । उद्योगीहरूको अटेरीपनमा वर्तमान सरकारले पनि पूर्ण रूपमा साथ दिएको छ ।
उद्योगको बक्यौता असुल गर्ने सम्बन्धमा पछिल्लो समय सरकार र प्राधिकरणबीच टसलको माहोल छ । बक्यौताका लागि प्राधिकरण उद्योगहरूको लाइन काट्ने, तर सरकारले भने प्राधिकरणलई ठाडो निर्देशन दिँदै हरेक पटक लाइन जोड्न लगाउने गर्दा यो विषय वर्षौँदेखि अल्झिरहेको छ । गत २८ कात्तिकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेरै यस विषयमा दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताउँदै कहिले लाइन काट्ने र कहिले जोड्ने गर्नु उपयुक्त नभएको बताएका थिए ।


0 comment