काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरूले महाधिवेशन सकिएको ६ महिनासम्म पनि जिम्मेवारी पाउन सकेका छैनन् । नेतृत्वमा देखिएको महत्वाकांक्षाका कारण कार्यविभाजन हुन नसकेको हो ।
पार्टीको संगठन विभागको नेतृत्व कसले लिने भन्ने विवादका कारण जिम्मेवारी बाँडफाँटमा समस्या देखिएको बताइएको छ । स्रोतका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संगठन विभागमा दाबी गरेका कारण पनि जिम्मेवारी बाँडफाँटको विषय टुंगोमा पुग्न नसकेको हो ।
पार्टीको पदाधिकारी निर्वाचनपछि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले ‘एक व्यक्ति एक पद’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने प्रयास गरे पनि पाण्डेको अडानको कारणले अहिलेसम्म कार्यविभाजनमा ढिलाइ भएको बताइन्छ । यसले स्वयं अध्यक्ष नेपाल पनि चेपुवामा परेका छन् ।
असारमा महाधिवेशन सम्पन्न गरेको सो पार्टीले भदौको ९ देखि ११ गतेसम्म पहिलो केन्द्रीय कमिटी बैठक राखेको थियो । सो बैठकले पदाधिकारी र पोलिटब्युरोको निर्वाचनबाहेक केही गरेन ।
३४४ सदस्यीय केन्द्रीय कमिटी रहेको पार्टीका नेताहरूले अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । यसबारेमा पार्टीका उपमहासचिव तथा कार्यालय प्रमुख रामकुमार भट्टराइले भने, ‘अमूक नेताका कारणभन्दा पनि समग्रमा मिलाएर लैजानुपर्ने कारणले जिम्मेवारी बाँडफाँटमा ढिलाइ भएको छ । अबको १ हप्ताभित्र सबै नेताको जिम्मेवारी टुंगिने गरी काम भइरहेको छ ।’
पदाधिकारी निर्वाचनमा भाग लिएका तर हारेका केही नेताले भने पदाधिकारी र पोलिटब्युरो निर्वाचन खारेज हुनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले उक्त निर्वाचन गलत भएको भन्दै आएका छन् । यसबारेमा पार्टीका एक नेताले भने, ‘निर्वाचन प्रक्रियामा सहभागी भएपछि त्यसको परिणाम स्वीकार गर्नुपर्छ । प्रक्रियामा भाग लिएर परिणाम स्वीकार नगर्ने काम गलत हो ।’
महाधिवेशनपछि सो पार्टीको कुनै पनि राजनीतिक र सामाजिक गतिविधि भएको छैन । ‘पार्टीको गतिविधि नभएकै हो । यसबीचमा दसैँ, तिहार, छठ जस्ता पर्व पर्नुका साथै बाढीपहिरोका कारण केही गर्न सकिएन । पार्टी छ कि छैन जस्तो अवस्था रह्यो,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘अब भने यो अवस्थाको अन्त्य हुन्छ । हामी उपनिर्वाचनमा छौँ । छिट्टै सबै नेता कार्यकर्तालाई जिम्मेवारीसहित पार्टी काममा लाग्ने वातावरण बनाउछौँ ।


0 comment