काठमाडौं - एमालेले शुक्रबार गरेको जागरण सभाको क्रममा दरबारमार्गस्थित सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरी वातावरण प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।
काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा जरिवाना पत्र काटिएको छ ।
सो पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो ।
कार्यक्रम सकिएपछि सडकमा छरिएका फोहोर, पानीको बोतल लगायत फोहोर महानगरपालिकाको सफाइ कर्मचारीले सफा गरेका थिए ।


0 comment