काठमाडौं । 
जिल्ला प्रहरी कार्यालय कास्कीले पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउ परेकोबारे सभामुख देवराज घिमिरेलाई जानकारी दिएको छ । 
रास्वपा सभापतिसमेत रहेका लामिछाने कास्की जिल्ला अदालतको अनुमतिमा शुक्रबार पक्राउ परेका हुन । 
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार नै  रवि लामिछाने पक्राउ परेको जानकारी गराएको जनाइएको छ ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिमा पनि लामिछानेलाई फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी प्रहरीले शुक्रबार नै सभामुखलाई दिएको उल्लेख छ ।
प्रतिनिधि सभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई त्यसबारे जानकारी गराउनुपर्ने प्रावधान छ । शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै कास्की लगिएको हो । 
आज शनिबार भएकाले म्याद थपका लागि प्रहरीले आइतबार मात्रै लामिछानेलाई अदालत उपस्थित गराउने जनाएको छ ।